लेवान्डोस्की टोलीमा फर्किए

लेवान्डोस्की टोलीमा फर्किए

काठमाडौं। क्याटलान क्लब बार्सिलोनालाई च्याम्पियन्स लिगको इन्टर मिलानविरुद्धको दोस्रो लेगमा ठूलो राहत मिलेको छ।

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की चोटमुक्त भई टोलीमा फर्किएका छन्। लेवान्डोस्कीलाई सोमबार टोलीमा समावेश गरिएको हो। उनी करिब दुई साता अघिदेखि बायाँ तिघ्रामा लागेको चोटका कारण मैदानबाहिर थिए।

उनले यो अवधिमा चार खेल गुमाए, जसमा इन्टर मिलानसँग गत हप्ता भएको रोमाञ्चक पहिलो लेग पनि समावेश छ। उक्त लेग ३–३ को बराबरीमा सकिएको थियो। उनलाई अप्रिल १९ मा सेल्टा भिगोविरुद्धको ला लिगा खेलमा चोट लागेको थियो।

‘दुई साता पुनर्स्थापना प्रक्रियामा बिताएपछि र आइतबार टोलीसँग अभ्यास गरेपछि उनलाई पूर्ण फिट घोषणा गरिएको छ,’ क्लबले भन्यो। ३६ वर्षीय लेवान्डोस्कीले बार्सिलोनाका लागि हालसम्मकै उत्कृष्ट सिजन खेलेका छन्। उनले कुल ४० गोल गरिसकेका छन्, जसमा ११ गोल च्याम्पियन्स लिगमा हुन्। 

ला लिगामा उनले २५ गोल गरेका छन्। यो रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेभन्दा एक गोल बढी हो। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले शनिबार भएको भालाडोलिडविरुद्धको २–१ को जितमा अधिकांश नियमित खेलाडीहरूलाई आराम दिएका थिए। 

चार खेल बाँकी हुँदा बार्सिलोना ला लिगामा रियलभन्दा चार अंकले अगाडि छ। अब आउने आइतबार हुने ‘एल क्लासिको’ ले उपाधि दौडलाई निर्णायक मोड दिन सक्नेछ।

लेवान्डोस्कीको पुनरागमनले बार्सिलोनालाई इन्टरविरुद्धको दोस्रो लेगमा ठूलो हौसला मिल्नेछ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply